सुरु भयो ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडूबीचको एकीकृत कारोबार, प्रधानमन्त्रीले गरे सुभारम्भ

होमल्याण्ड खबर

२०७९ पुष २५ गते, सोमबार १०:३८ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडूबीच मर्जरपश्चात आजदेखि एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुभारम्भ गरेका छन् । अवदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट यी दुवै बैंकले एकीकृत कारोबार गर्नेछन् ।

यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो । नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृती प्राप्त गरेपछि आजै देखि एकीकृत कारोबार भएको हो ।

बैकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि शनिबार र आइतबार बैंकको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द थियो । तर आजदेखि सुरु भएको छ ।

मर्जरपश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कूल निक्षेप चार खर्ब ८ अर्ब, कूल कर्जा ३७६ अर्ब भन्दा बढी पुगेको छ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी , चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना छन् । यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहेका छन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बैंक लिमिटेडमा पाँच वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुने छन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू हुनेछ ।