कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ पुष २६ गते, मंगलवार ११:०९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक साढे ११ बजे संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बस्ने पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

‘विश्वासको मतबारे केन्द्रीय कार्यसम्पादन बैठकले म्यानडेट दिनेछ । त्यही म्यानडेट लिएर पार्टीको संसदीय दलको बैठक बस्नेछ,’ पौडेलले भने । पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरु यतिबेला पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी रहेको छ ।

कांग्रेसको आग्रहमा ११ बस्ने भनिएको प्रतिनिधि सभाको बैठकसमेत १ बजेलाई सारिएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।