२७ बैशाख २०८३, आईतवार
खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता बालिका मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् । आइतबार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन भएकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।
बालिका महेन्द्रोदय मावि हलेसीमा कक्षा १० मा अध्ययनरत थिइन् । ३ पुसदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिइन् ।


घटनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफै झुण्डिएको’ विषय खुल्ने डिएसपी मुकारुङले बताए ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमाया विश्वकर्माको हत्या भएको पाँच वर्ष बित्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । ज्ञानीमायाँ घर नजिकै २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृत फेला परेकी थिइन् ।