विमान दुर्घटनाः सनाखत हुन नसकेको २५ जनाको शव काठमाडौं ल्याइयो

होमल्याण्ड खबर

२०७९ माघ ३ गते, मंगलवार १४:०४ मा प्रकाशित

पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउने २५ जनाको शव काठमाडौं ल्याइएको छ । सेनाको एमआई–१७ हेलिकोप्टरबाट शवहरू मंगलबार काठमाडौं ल्याइएको हो ।

त्रिभुवन विमानस्थलबाट शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । पहिचान हुन नसेकाको शव त्रिवि अस्पताल ल्याइएको हो ।

थप २३ शव पनि आजै काठमाडौं पठाउने तयारी भइरहेको पोखराका एसपी अजय केसीले जानकारी दिए । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाले ज्यान गुमाएका थिए । तीन जनाको अवस्था अझै अज्ञात छ ।