४ चैत्र २०८२, बुधबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतका सरकारका पालामा हाम्रो छिमेक सम्बन्ध तरंगित र असन्तुलित भएको टिप्पणी गरेका छन् ।
शुक्रबार पार्टीको परराष्ट्र विभागले आयोजना गरेको ‘नेपालको विदेश नीति तथा अन्तराष्ट्रिय सम्बन्ध’ विषयक दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विगतका सरकारका पालामा हाम्रो छिमेक सम्बन्ध तरंगित र असन्तुलित भएको टिप्पणी गरेका हुन् ।
‘विगत सरकारका पालामा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चल्यो । सिंगै राष्ट्र एकजुट भएर देशको हितमा अन्तराष्ट्रिय सम्बन्ध सञ्चालन गर्नुपर्ने ठाउमा देशभित्र तनाव बढाउने र बाह्य शक्तिहरुसँग साँठगाँठ गरेर राष्ट्रिय हितलाई कमजोर बनाउने खालका क्रियाकलापहरु भए’ उनले भने ।


कुनै पनि देशले आफ्नो स्थिति र विकास र सुरक्षालाई ध्यानमा राखेर विदेश नीति अपनाउने बताएका हुन् । उनले आफ्नो पार्टी सरकारमा भएपनि नभएपनि दुई छिमेकीबीचको सम्बन्ध सन्तुलित र भरपर्दो हुनुपर्ने भन्दै छिमेकीका निम्ती असल छिमेकी हुन चाहेको बताए ।
उनले पञ्चशीलका सिद्धान्तका आधारमा परराष्ट्र नीतिप्रति नेपाल पनि प्रतिवद्ध रहेको भन्दै कतिपय देशहरुले अपनाउने परराष्ट्र नीतिका कारण विलय हुनुपरेको स्मरण गराए ।
उनले भने ‘हामी हाम्रा छिमेकीहरुका लागि असल छिमेकी हुन चाहन्छौ र उनीहरुको कुभलो गर्दैनौं । विल्कुलै कुभलो नगरी छिमेकीहरुसँग भलो चिताएर, सहयोग पुर्याएर, चासो र चिन्तालाई समेत सम्बोधन गरेर अघि जान्छौ । ’