२७ बैशाख २०८३, आईतवार
जिल्ला अदालत महोत्तरीले सात वर्षीया बालिका गुलाब साह खातुन हत्यामा दोषी ठहर गर्दै अरुण साहलाई जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीश रामचन्द्र खड्काको एकल इजलासले साहलाई पीडित परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्तिसहित जन्मकैद सजाय सुनाएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए । हत्या भएको ३ वर्षपछि गत आइतबार अदालतले दोषीलाई सजाय सुनाएको हो ।


७ मंसिर २०७६ मा बर्दिबासस्थित शुभम् बस्तीबाट बेपत्ता भएकी बालिका खातुन शव भोलिपल्ट साहको नै घर नजिक बोरामा प्याक गरेर फ्याँकिएको अवस्थामा फेलापरेको थियो । बयानका क्रममा साहलाई आरोप स्वीकारे थिए । पुर्पक्षकै क्रममा जेलमा रहेका साहलाई जन्मकैद सुनाइएको हो ।
अरुण साहविरुद्ध २ जेठ २०७७ मा जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएको थियो । बालिका खातुनको शव क्षतविक्षत अवस्थामा भेटिएपछि स्थानीयहरुले नाराबाजी गरेका थिए । सो क्रममा सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।