४ चैत्र २०८२, बुधबार
सरकारलाई सहयोग गर्न बनाइएको उच्चस्तरीय राजनीतिक सम्यन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजकत्वको सम्यन्त्रको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागितामा सुरु भएको हो ।
सम्यन्त्रमा सत्तारुढ दलका शीर्ष नेता सदस्य छन् । तर, आजको बैठकमा सत्तारुढ दलहरू जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सहभागी छैनन् ।


बैठकमा प्रधानमन्त्री, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन सहभागी छन् ।
बैठकमा राष्ट्रपति निर्वाचनमा सत्तारुढ दलको तर्फबाट साझा उम्मेदवार चयन, उपराष्ट्रपतिको उम्मेद्वार चयन, सरकारलाई पूर्णतालगायत विषयमा कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपति उम्मेदवारको विषयमा सत्तारुढ दलबीच मतैक्यता बन्न सकेको छैन । एमालेले सरकार निर्माणका बेला आफ्नो सिफारिसमा राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति भएको बताइरहेको छ ।
तर, प्रधानमन्त्री र उनी अध्यक्ष रहेको नेकपा (माओवादी केन्द्र)ले भने राष्ट्रपतिको उम्मेद्वारमा राष्ट्रिय सहमति खोज्नु पर्ने बताइरहेका छन् ।