गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द विश्वविद्यालय बनाउने निर्णय हुन्छ : प्रधानमन्त्री

होमल्याण्ड खबर

२०७९ माघ २९ गते, आईतवार १४:१८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेटा मेडिकल कलेजजलाई शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताएका छन् ।

गेटा मेडिकल कलेजबारे आज सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका रूपमा विस्तार गर्ने निर्णय सरकारले गर्ने बताएका हुन् ।

‘गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्छ,’ प्रधानमन्त्रीले भने, ‘यो सुदूरपश्चिम र सिँगो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा हो ।’

नेपालमा आजसम्म पनि स्वास्थ्यविज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा गर्ने विश्वास आफूले लिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

यससम्बन्धी थप घोषणा प्रधानमन्त्रीले भोलि सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्ने उनको सचिवालयले जनाएको छ ।