उपचुनावमा जान रवि लामिछानेलाई हतारो, छिट्टै मिति तोक्न माग

होमल्याण्ड खबर

२०७९ माघ २९ गते, आईतवार १५:१७ मा प्रकाशित

नागरिकता विवादका कारण सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा उपनिर्वाचनको मिति छिट्टै तोक्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साक्षेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संन्यत्रको बैठकमा रास्वपाका सभापति समेत रहेका लामिछानेले आफुलाई चुनाव लड्नुपर्ने भाउँतो आईलागेको भन्दै छिट्टै उपचुनावको मिति घोषणा गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।

गत मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा चुनावमा लामिछाने चितवन २ बाट निर्वाचित भएका थिए । तर उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पूर्नप्राप्तीको प्रक्रिया पूरा नगरेको आधारमा उनको नागरिकता सर्वाेच्च अदालतको सम्वैधानिक इजालशले बैधानिक नरहेको फैसल्ला सुनाएपछि उनी पदमुक्त भएका थिए ।

नागरिकता विवादका कारण लामिछानेले सांसद पद मात्र गुमाएनन, नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री समेत गुमाएका थिए । तर पनि नागरिकता पूनः प्राप्तीको प्रक्रिया पूरागरेपछि फेरि उनले गृह लिएर सरकारमा जान कोसिस गरेका थिए । तर प्रधानमन्त्रीले सर्वाेच्च अदालतको पूर्ण पाठ र दोहोरो राहदानीका विषयमा परेको उजुरीको निरुपण नहुँदासम्म तत्कालै गृह दिन नसकिने अडान लिएपछि अन्तत उनको पार्टी नै माघ २२ गते सरकारबाट बाहिरिएको थियो ।

आइतबार एमाले अध्यक्ष केपी ओली, राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङङेनको उपस्थितीमा लामिछानेले प्रधानमन्त्रीसँग तत्काल उपचुनावको मिति घोषणा गरेर आफुलाई फेरि एकपटक छिटटै परिक्षामा जान मौका दिन आग्रह गरेका थिए ।

‘मेरो निर्वाचन क्षेत्रमा फेरि उपचुनाव गर्नुपर्ने भाउतो आईलागेको छ । त्यसमा समयमै जतिसक्दो छिटो उपनिर्वाचन गरियोस् ताकि हामीलाई सजिलो होस्’ लामिछानेले प्रधानमन्त्रीसँग भनेका थिए ।

लामिछानेले उपचुनावमा हतारो गरेपछि प्रधानमन्त्रीले आफुले यसबारेमा गहिरो छलफल गरिरहेको बताएका थिए । लामिछानेले तत्काल उपचुनाव गर्न गरेको आग्रहको जवाफमा प्रधानमन्त्रीले निर्वाचन आयोगसँग यस विषयमा कुराकानी भएको बताएका थिए ।

‘निर्वाचन आयोगसँग उपचुनावका बारेमा कुराकानी भएको छ । चुनावको मिति छिट्टै तोकिन्छ,’’प्रधानमन्त्रीले लामिछानेलाई जवाफ दिएका थिए ।