आज विश्व पर्यटन दिवसः दक्षिण एसियामा भारत फाइदामा

होमल्याण्ड खबर

२०७५ आश्विन ११ गते, बिहीबार ११:२१ मा प्रकाशित

३९औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । राष्ट्रसंघीय विश्व पर्यटन संगठनको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ का दिन विश्व पर्यटन दिवस मनाउने गरिएको हो ।

यो वर्ष विश्व पर्यटन दिवसको मूल नारा ‘पर्यटन र सूचनाप्रविधि रुपान्तरण’ तय गरिएको छ । यसले पर्यटन क्षेत्रमा सूचना प्रविधिको प्रयोगलाई जोड दिएको छ ।

प्रविधिको प्रयोगसँगै विश्वभर नयाँ–नयाँ ठाउँ घुम्न चाहने व्यक्तिको संख्या बढेको छ । अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेका कारण विश्वभर यसलाई प्रमुखताका साथ लिइन्छ । विश्व पर्यटन संगठनका अनुसार सन् २०१७ मा विश्वमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या एक अरब ३२ करोड रहयो । यो क्षेत्रबाट १३ खरब ४० अरब डलर आम्दानी भएको बताइएको छ । पर्यटन क्षेत्रले विश्वको कुल गार्हस्थ उत्पादन र रोजगारी सिर्जनामा १०–१० प्रतिशत योगदान दिने गरेको छ ।

विश्व पर्यटन संगठनका अनुसार सन् २०१७ मा दक्षिण एसियाली मुलुकहरु ९इरानसहित०ले दुई करोड ६६ लाख पर्यटक भित्र्याए । त्यसबाट झण्डै ४० खरब डलर आम्दानी गरेको विवरण छ ।

विश्वको तुलनामा यो पर्यटक आगमन दुई प्रतिशत मात्रै हो भने आम्दानी तीन प्रतिशत मात्रै मानिएको छ । दक्षिण एसियामा भारतको हिस्सा धेरै छ । दक्षिण एसियामा कुल विदेशी पर्यटक आगमनको ५८ प्रतिशत र आम्दानीको ६९ प्रतिशत भारतले प्राप्त गरेको छ ।
त्यसमा नेपालको हिस्सा भने पर्यटक आगमनमा चार प्रतिशत र आम्दानी २ प्रतिशत मात्रै छ । जुन माल्दिभ्स र श्रीलंकाभन्दा निकै न्यून हो । नेपाल धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक, जैविक लगायतका क्षेत्रमा विश्वमै अद्वीतीय छ । तर, पर्यटक आगमन र आम्दानी कम छ ।

नेपालमा अहिलेसम्म पर्यटन क्षेत्रले कति कमाई गर्छ भन्ने समेत लगत राख्ने गरिएको छैन । नेपाल पर्यटन बोर्डका अनुसार यसपटक देखि डिजिटल रुपमा त्यसको आँकडा राख्ने व्यवस्था गरिँदै छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङक अनुसार गएको वर्ष अर्थात सन २०१७ मा करिब साढे ९ लाख पर्यटक नेपाल आएका थिए । यो वर्ष अथवा सन २०१८ मा यसलाई १२ लाख बनाउने लक्ष्य छ । अहिले कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान तीन प्रतिशत भन्दा कम रहेको अवस्था छ । यसलाई आगामी दुई वर्षमा १० प्रतिशत बनाउने सरकारी लक्ष्य छ ।

सन २०२० लाई नेपाल पर्यटन वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने र त्यो अवधिसम्म दुई खरब रुपियाँ आम्दानी गर्ने लक्ष्य छ । यो असम्भव होइन, तर, त्यसका लागि अझै आधार तयार नभएको बताइँदै छ । पर्यटनमन्त्री त्यसै उछालिरहेका छन् ।