बसको ठक्करले महिलाको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त

होमल्याण्ड खबर

२०७९ फाल्गुन १ गते, सोमबार १३:०० मा प्रकाशित

वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त आन्दोलनमा उत्रिएका छन् ।

उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्ताहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् ।

आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् ।

आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् ।

बसको ठकरबाट आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको थियो ।

रावत हाल वीरेन्द्रनगर-१० को बामेखोलामा बस्दै आएकी थिएन । बा४ख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।

तर प्रहरीले मृतकको पहिचान नै नगरेर प्रदेश अस्पताल कालागाउँमा पठाएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।

बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा रावतलाई ठक्कर दिएको जिल्ला  प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले बताए ।