दसैँ अघि मेलम्चीको पानी काठमाडौँ नआउने

होमल्याण्ड खबर

२०७५ आश्विन ११ गते, बिहीबार १२:४६ मा प्रकाशित

दसैँ अगावै मेलम्चीको पानी काठमाडौँ नआउने भएको छ । सरकारले दसैँ अगावै मेलम्चीको पानी सुन्दरीजल ल्याउने घोषणा गरेको थियो तर पानी ल्याउन सम्भव देखिएको छैन । निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा सरकारको घोषणा पूरा नहुने भएको हो । सुरुङ खनेर सम्पन्न भए पनि फिनिसिङको काममा ढिलाइ हुँदा दसैँ अगावै पानी ल्याउन नसकिने भएको हो ।

हालसम्म जम्मा १५।५ किलोमिटर सुरुङको फिनिसिङ भएको छ । ६० प्रतिशत सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हाल दैनिक १८० मिटरका दरले सुरुङ फिनिसिङको काम भइरहेको छ । यही गतिमा फिनिसिङको काम गरे एक महिनामा ५।५ किमी सम्पन्न हुुन्छ । फिनिसिङ सम्पन्न गर्न कम्तीमा २ महिना १५ दिन लाग्ने छ । जसका कारण दसैँ अगावै सम्भव नभएको हो ।

मेलम्ची खानेपानी विकास समिति, एडीबी र निर्माण कम्पनीबीच बुधबारको बैठक सम्पन्न भएको छ । बैठकमा निर्माण कम्पनीले २ महिनामा सम्पन्न गर्ने बताएको समितिका वरिष्ठ डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताए । निर्माण कम्पनीले अक्टोवर १५ सम्ममा काम सम्पन गर्ने बताउँदै आएको थियो ।

मेलम्ची खोलादेखि सुन्दरी जलसम्मको २७।५ किलोमिटर सुरुङ ब्रेकथ्रु गरिए पनि फिनिसिङको कामका ढिलाइ भएको छ । सुन्दरीजल, थकनी र इचोकमा भेन्टिलेसनको काम सुरु भएको छैन । भेन्टिलेसनको काम सुरुङभित्रैबाट गरिने भएको छ ।
त्यसका लागि पहाडमा प्वाल पार्ने तीनवटा मेसिन भारतबाट आउँदै गरेकोे पन्तले जानकारी दिए । समितिका अनुसार मेलम्ची खोलामा हाललाई अस्थायी डाइभर्सनका बनाएर पानी ल्याउने तयारी गरिएको छ । पानीको बहाव कम भएको बेला स्थायी डाइभर्सन निर्माण गरिने भएको छ ।