राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

होमल्याण्ड खबर

२०७९ फाल्गुन १० गते, बुधबार ०९:५५ मा प्रकाशित

भावी राष्ट्रपतिको उम्मेदवार चयन गनेृबारे छलफल गर्न राष्ट्रपति निर्वाचनमा सबैभन्दा धेरे मत भएको नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसले ११ फागुन (भोलि) कार्यसम्पादन समिति बैठक बोलाएको हो । महामन्त्री विश्वप्रकाश शर्माले ११ फागुनमा कार्यसम्पादन समिति बैठक बोलाइएको र त्यो बैठकमा पार्टीले राष्ट्रपति निर्वाचनमा उठाउने उम्मेदवारबारे छलफल हुने जानकारी दिए । तर, कुन समयमा बस्ने भन्ने एकिन भएको छैन ।

कांग्रेसले यसअघि नै राष्ट्रपतिमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने भन्ने निर्णय पदाधिकारी र संसदीय दलको संयुक्त बैठकबाट निर्णय गरिसकेको छ । भोलिको बैठकले उम्मेदवार को हुने भन्नेमा छलफल गरेर निर्णय लिने बताइएको छ ।

कांग्रेसबाट राष्ट्रपतिमा नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र नेता मानबहादुर विश्वकर्माको नाम चर्चामा छ ।

अझ महामन्त्री शर्माले त पार्टी सभापति तथा पूर्व प्रधामनमन्त्री शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बन्न सुझाइरहेका छन् । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर राष्ट्रपतिमा सघाउन आग्रह गरिसकेको छ ।