राष्ट्रपतिमा ठाकुरकाे पनि दाबेदारी

होमल्याण्ड खबर

२०७९ फाल्गुन १० गते, बुधबार १२:०८ मा प्रकाशित

भावी राष्ट्रपतिमा विभिन्न व्यक्तिको नाम चर्चामा आइरहेका वेला लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष महन्थ ठाकुरले पनि दाबेदारीसहित औपचारिक दौड सुरु गरेका छन् ।

मंगलबार दिउँसो बसेको लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन पहल थाल्ने निर्णय गरेलगत्तै पार्टीका नेताहरू लिएर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीकहाँ पुगेका उनले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन औपचारिक प्रस्ताव गरेका हुन् ।

‘हामीले राष्ट्रिय सहमतिको राष्ट्रपतिका लागि उपयुक्त पात्र महन्थ ठाकुर हुनुहुन्छ भनेर पहल सुरु गरेका छौँ । त्यही सिलसिलामा प्रधानमन्त्री र ओलीलाई भेट्यौँ । दुवै सकारात्मक हुनुहुन्छ । बुधबार अन्य दलका नेतृत्वलाई भेट्ने तयारीमा छौँ,’ लोसपाका वरिष्ठ नेता शरत्सिंह भण्डारीले भने । भण्डारीका अनुसार बुधबार बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने र त्यसपछि अन्य दलका नेतालाई भेट्ने तालिका तय भएको छ ।

लोसपाले चार दिनयता ठूला दलका दोस्रो तहका नेताहरूसँग अनौपचारिक छलफल गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डसँग ‘वान टु वान’ छलफलका लागि तीन दिनयता प्रयास गरेको थियो । मंगलबार बैठक बसिरहेकै वेला प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि ठाकुरसहित लोसपा नेताहरू शरत्सिंह भण्डारी, राजेन्द्र भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल र सुरेन्द्र झा बालुवाटार पुगेका थिए । बालुवाटारमा लोसपाका नेताहरूले महन्थलाई राष्ट्रपति बनाउन औपचारिक आग्रह गरेको र प्रधानमन्त्री सकारात्मक रहेको नेता भण्डारीले बताए ।