सांसद अरुण चौधरीले राष्‍ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने

होमल्याण्ड खबर

२०७९ फाल्गुन १० गते, बुधबार १३:२७ मा प्रकाशित

नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका छन्। थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा जेल परेका सांसद चौधरी जेलमुक्‍त भएपनि उनको सांसद पद फुकुवा नभएपछि निर्वाचनमा भाग लिन नपाउने भएका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदा मिनाह गरिदिएपछि सांसद चौधरी रिहाइ भएका हुन्। तर संसद सचिवालयले उनको निलम्बन पद फुकुवा गरेको छैन।

उनीसँगै नेपाली कांग्रेस सांसद टेकबहादुर गुरूङले पनि मतदान गर्न नपाउने भएका छन्। सांसद भएपनि उनको भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधिन छ।

यस्तै राष्ट्रिय स्‍वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज छ। नागरिकता विवादमा मुछिएपछि सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको हो। लामिछानेले अदालतको आदेशअनुसार पुनस् नेपाली नागरिकता प्राप्त गरेका छन्।

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले प्रकाशित गरेको मतदाता नामावलीमा चौधरीको नाम छैन। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको छ। जसमध्ये प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य ३३१ जना र प्रदेश सभाका ५५० जना सांसदले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।

तीनजना सांसदले भने निर्वाचनमा भाग लिन नपाउने भएका छन्। संसाद अरूण चौधरी र टेकबहादुर गुरूङ निलम्बनमा छन्। चौधरी थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा जेल परेका थिए। तर सरकारले जेलमुक्त गरेपनि उनको निलम्बित सांसद पद संसदबाट फुकुवा भएको छैन। यसैगरी भ्रष्टाचार मुद्दामा गुरूङ निलम्बनमा छन्। नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद गुमेपछि उनको पद खाली छ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा दुईटा मतदान केन्द्र हुनेछन्। राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदन ९प्रतिनिधिसभा र राष्ट्रियसभा० का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्।

हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन्। राष्ट्रियसभामा ५९ जना सदस्य छन्। संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन्। संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ।

संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो। प्रदेशसभामा ५ सय ५० छ। जसको मतभार २६ हजार ४ सय हुन्छ। राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ। जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ। राष्ट्रपति निर्वाचित हुन एकाउन्न प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ।