८ मंसिर २०८१, शनिबार
दसैंका लागि आवश्यक सामग्री किन्न कता जाने भन्ने योजना बनाउँदै हुनुहुन्छ भने एकै छानामुनि सस्तोमा धेरै किसिमका सामान किन्न पाइने भएको छ । दसैंलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डमा स्टक क्लियरेन्स मेला सुरु भएको छ ।
बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्देश्यले मेला सुरु भएको हो । एकै छानामुनि स्वदेशी तथा विदेशी ब्रान्डका वस्तु तथा सेवाउपलब्ध गराउन इभेन्ट सोलुसनले मेलाको सञ्चालन गरेको हो । मेलालाई नेपाल चेम्बर अफ कमर्सले प्रवद्र्धन गरेको छ ।
मेलाको उद्घाटन गर्दै चेम्बर अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने गरेको बताए । मेला तथा एक्स्पो आयोजना हुने क्रम बढ्दै गए पनि ठूलो प्रदर्शनी स्थलको अभावले समस्या हुने गरेको उनको भनाइ थियो । सरकारले जग्गा मात्र उपलब्ध गराएको खण्डमा आफूहरू प्रदर्शनी स्थल तयार गर्न अग्रसर हुने उनले बताए ।
बर्सेनि आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दसैंको बेला सस्तो मेला’नारा दिइएको छ । ५ दिनसम्म चल्ने एक्स्पोमा दसैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरू सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।
“मेलामा कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टल छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्रान्डका सामान खरिद गर्न सकिन्छ,” प्रधानले भने । नेपाल, भारत तथा बंगलादेशलगायत मुलुकका व्यवसायीहरू मेलामा सहभागी छन् ।
राजधानीका साथै राजधानी आसपासका उपभोक्ताले मेलाबाट लाभलिन सक्ने छन् भने विक्रेताहरूले पनि एकै स्थानमा फरक किसिमका उत्पादन बिक्री गर्न पाउने छन् । ५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफूलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेन्ट सोलुसनको छ । मेला असोज १५ गतेसम्म चल्नेछ ।