८ मंसिर २०८१, शनिबार
माछापुछ्रे बैंकले इलाम र म्याग्दीमा २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ र म्याग्दीको रघुगंगा गाउँपालिकास्थित राखु भगवतीमा थप २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
योसहित माछापुछ्रे बैंकको हालसम्म २९ शाखारहित बैंकिङ सेवा सुचारु भइसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द«का रूपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्नेसमेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरहरूलगायत २९ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १ सय १७ स्थानबाट ग्राहक महानुभावहरूमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएम सञ्चालनमा छ ।