प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्चमा परेको रिटमा २५ गते पेसी

होमल्याण्ड खबर

२०७९ फाल्गुन २३ गते, मंगलवार १४:१० मा प्रकाशित

 प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ। रिटमा प्रारम्भिक सुनुवाइको लागि २५ गते पेसी तोकिएको छ।

सर्वोच्चले शुक्रबार दाहालविरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि अधिवक्ता ज्ञानेन्द्रराज आरण समेत गरी १५ जनाले आज रिट दर्ता गराएका हुन्।

२०७६ माघ १ मा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले द्वन्द्वकालमा नेकपा माओवादीबाट मारिएका( हत्या गरिएका) ५ हजार व्यक्तिको जिम्मा लिने बताएका थिए। बाँकी १२ हजार व्यक्ति हत्याको जिम्मा तत्कालीन राज्य पक्षले लिनुपर्ने जिकिर गरेको विषयमा रिट निवेदन सर्वोच्चमा पुगेको थियो। ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दर्ता गर्न लगेको रिट निवेदनलाई गत कात्तिक २४ मा सर्वोच्च प्रशासनले दरपीठ (दर्ता गर्न नमिल्ने) को आदेश गरेको थियो।

सर्वोच्च अदालतले संक्रमणकालीन न्यायका विषयमा सरकार गम्भीर बन्न नसक्दा रिट निवेदन लिएर अदालत पुग्दा दर्ता हुनुपर्ने आदेश गरेको छ। उक्त रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएपछि माओवादीवृतमा तरंग फैलिएको छ।

आजै माओवादी धारका ८ दलका नेताहरुले शान्ति सम्झौताविपरितका गतिविधिको विरोध र प्रतिबाद गर्ने निर्णय गरेका छन्। युद्धकालीन अपराध हेर्नको लागि गठन भएको  सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्छ भन्नेमा पनि माओवादी धारका नेताहरु एकमत भएका छन्।