३ चैत्र २०८२, मंगलवार
राष्ट्रपति उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएमा शितल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने बताएका छन्।
राष्ट्रपतिमा मतदान गरेपछि बाहिरिने क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग राष्ट्रपति शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम नहुने बताएका हुन्।


राष्ट्रपतिमा निर्वाचित भएमा उदाहरणीय काम गरेर देखाउने बताए । ‘राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुखबीच भिन्नता तपाईंहरूले देख्नुहुनेछ,’ उनले भने, ‘शितल निवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन।’
यसअघिका राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीका पालामा राष्ट्रपति शितल निवासबाट बाहिर निस्कँदा सडक खाली गर्ने गरिएकोमा आलोचना भएको थियो।
पौडेलले आफूलाई नेकपा एमालेका सांसदहरुले पनि मत दिने विश्वास व्यक्त गर्दै आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न सबैले सघाउने विश्वास व्यक्त गरे ।
राष्ट्रपति निर्वाचनमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।
राष्ट्रपति पदको निर्वाचन बिहान १० बजेदेखि सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।