१२ मंसिर २०८१, बुधबार
निर्मला पन्तको हत्याराको पहिचान हुनुको सट्टा घटना झन् रहस्यमय बन्दै गएको छ ।
निर्मलाको बलात्कारपछि हत्याको आरोप लागेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षण गर्दा रिपोर्टका आधारमा उनीहरू दोषी देखिएनन् ।
एसपी विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए टेष्ट गरिएको थियो । तर तीनै जनाको रिपोर्ट मेल खाएन । अर्थात डीएनए रिपोर्ट नेगेटिभ आएको छ ।
कञ्चनपुरबासीले एसपीका छोरा र मेयरका भतिजमाथि छानबिन गर्न माग गरेका थिए । उनीहरू नै निर्मलाको बलात्कार र हत्यामा संलग्न भएको भन्दै स्थानीयले सो माग गरेका थिए ।
तर एसपी विष्टसहित तीनजनाकै डीएनए टेष्ट गर्दा नेगेटिभ आएकाले वास्तवमा निर्मलाको हत्यारा को हुन् ? भन्ने अन्यौल बढाइदिएको छ ।
त्यसो त निर्मलाको बलात्कार र हत्यापछि सो प्रमाण नष्ट गर्ने काम जान अन्जान प्रहरीबाटै भएको बताइएको छ । निर्मलाका बुबा लगायत कञ्चनपुरबासीले नियतबस प्रहरीहरूले नै प्रमाण नष्ट गरेको दाबी गरेका छन् ।
गत साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।