तनहुँ १ मा चितवन २ सँगै उपनिर्वाचन गर्ने आयोगको तयारी

होमल्याण्ड खबर

२०७९ फाल्गुन ३० गते, मंगलवार १०:१९ मा प्रकाशित

निर्वाचन आयोगले तनहुँ १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राष्ट्रपति पदमा नियुक्त भएसँगै खाली भएको स्थान परिपूर्ति गर्न बैशाख १० गते नै निर्वाचन गर्ने तयारी गरेको छ । तर, त्यसको औपचारिक घोषणा भने आयोगले उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि गर्ने भएको छ ।

उपराष्ट्रपतिको निर्वाचन परिणामले थप निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्ने गरी आयोगले आन्तरिक तयारी गरेको आयोग स्रोतले बतायो ।

उपराष्ट्रपति निर्वाचनमा चार जना उम्मेदवार रहेकोमा एक÷एक जना राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य छन् । आयोगले उपराष्ट्रपतिको निर्वाचनबाट प्रतिनिधि सभा क्षेत्र रिक्त हुने अवस्था आए आगामी २०८० साल वैशाख १० गते नै चितवन, तनहुँ र सो क्षेत्रमा उपनिर्वाचन गर्ने तयारी गरेको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ मा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था गरिएको छ। निर्वाचन ऐनको त्यही व्यवस्थाबमोजिम आयोगले माघ २९ गते चितवन–२ मा उपनिर्वाचन हुने घोषणा गरेको थियो।

चितवन २ बाट निर्वाचित रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यहाँबाट निर्वाचित हुने प्रतिनिधि सभा सदस्य पद रिक्त भएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चालू आर्थिक वर्ष २०७९/८० भित्र जुनसुकै क्षेत्रमा उपनिर्वाचन हुने भए माघ २९ गतेसम्म कायम मतदाताले मात्रै मतदान गर्न पाउने निर्णय भएको जानकारी दिए ।

आयोगको त्यो निर्णयबमोजिम चितवन र तनहुँमा माघ २९ गतेसम्म कायम मतदाताले मतदान गर्न पाउने प्रवक्ता पौडेलले बताए ।

आयोगले चितवन–२ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन आगामी वैशाख १० गते हुने निर्धारण गरिसकेको छ। चितवनको उपनिर्वाचनका लागि दल दर्तासमेत भइसकेको छ।