प्रधानमन्त्री दाहालले ७ चैतमा विश्‍वासको मत लिने तयारी

होमल्याण्ड खबर

२०७९ फाल्गुन ३० गते, मंगलवार १०:४५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालले ७ चैतमा प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने तयारीबारे प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनका दलहरूसँग अनौपचारिक छलफलसमेत गरिसकेका छन् ।

नेकपा एमाले र र राष्ट्रिय प्रजातन्त्र पार्टीले २६ पुसमा प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा विश्वासको मत दिएका थिए ।

र, ती दलले १० पुसमा भएको सहमति विपरित राष्ट्रपति निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग गठबन्धन गरेको भन्दै दाहाललाई दिएको समर्थन फिर्ता लिएका थिए ।

राप्रपाले १३ फागुनमा र एमालेले १५ फागुनमा सरकारबाट बाहिरिने र प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेका थिए ।

संविधानमा भएको व्यवस्था अनुसार सरकारमा भएका दलले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्छ । त्यही व्यवस्थाको कार्यान्वयन गर्न दाहालले ७ चैतमा प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका हुन् ।

एमाले र राप्रपाले आफूले दिएको विश्वासको मत फिर्ता लिए पनि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने निश्चित भएकाले दाहाललाई सहज बहुमत पुग्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी नागरिकता प्रकरणमा पार्टी सभापति रविलामिछानेको सांसद पद खारेज भएपछि सरकारबाट बाहिरिएको थियो । तर उसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छैन । दाहालले फेरि विश्वासको मत लिँदा पनि पुनः विश्वासको मत दिने संकेत रास्वपाले गरेको छ ।

प्रतिनिधि सभाको बैठक ५ चैतका लागि सभामुख देवराज घिमिरेले आह्वान गरेका छन् । ३ चैतमा उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि ४ चैतमा गठबन्धन दलको बैठक बसेर विश्वासको मतबारे छलफल गर्ने र ७ चैतमा विश्वासको मत लिने तयारी आफ्नो रहेको प्रधानमन्त्री दाहालले कांग्रेसका शीर्ष नेताहरूलाई जानकारी दिएका छन् ।

कांग्रेसका एक नेताले सभापति देउवाले दाहाललाई ७ चैतमा विश्वासको मत लिने तयारी गर्न ग्रिन सिङ्नल दिएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे प्रतिनिधि सभामा दुई दिन अघि जानकारी गराउनु पर्ने भएकाले ४ चैतमा गठबन्धन बैठक बसेर छलफल गरी संघीय संसद् सचिवालयलाई जानकारी गराउने तयारी छ ।

सत्ता गठबन्धनमा माओवादीसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा तथा डा। बाबुराम भट्टराई र प्रभु साहको पार्टी पनि सहभागी छन् ।

७ गते विश्वासको मत लिएर सकभर त्यसे साँझ नभए अर्को मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री छन् ।