स्टक क्लियरेन्स एक्स्पो अब एकदिन बाँकी

होमल्याण्ड खबर

२०७५ आश्विन १५ गते, सोमबार १३:२४ मा प्रकाशित

भृकुटीमण्डपमा सञ्चालन भइरहेको स्टक क्लियरेन्स एक्स्पोमा अवलोकनकर्ताहरूको उल्लेखीय सहभागिता देखिएको छ । नजिकिँदै गरेको दसैंलाई लक्षित गरी दसैँको बेला सस्तो मेला भन्ने नाराका साथ सुरु गरिएको एक्स्पेमा उपभोग्य वस्तुका साथै लत्ता कपडालगायतका वस्तुको खरिदमा आकर्षक छुटसमेत प्रदान गरिएको आयोजकले जनाएका छन् । असोज ११ गतेदेखि सञ्चालनमा आएको एक्सोपो चौथो दिनसम्म ४६ हजार बढीले अवलोकन गरेको आयोजकको दाबी छ ।

मेलामा पहिलो दिनदेखि नै सामान किन्न आउनेहरूको बाक्लो उपस्थिति देखिएको हो । साथै उल्लेखीय रूपमा व्यापारसमेत भएको एक्स्पोमा सहभागीहरूको भनाइ छ । दसैंका लागि सामग्री किन्न कता जाने भन्ने योजना बनाउनेहरूलाई एक्स्पोको आयोजकले एकै स्थानमा सुपथ मूल्यमा सामान उपलब्ध गराउन मेला आयोजना गरेको हो । इभेन्ट सोलुसन प्रालिले आयोजना गरेको एक्सपोको नेपाल चेम्बर अफ कमर्सले प्रवद्र्धन गरेको छ । राजधानीका साथै आसपासका उपभोक्तालाई लक्षित गर्दै स्वदेशी तथा विदेशी ब्रान्डका वस्तु तथा सेवाका ७२ वटा प्रदर्शनी तथा बिक्री केन्द्र मेलामा राखिएको छ । चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने विश्वास चेम्बर अफ कमर्सले लिएको छ । दोस्रो संस्करणका रूपमा आयोजना भएको मेला ‘दसैंको बेला सस्तो मेला’भन्ने नारासहित आयोजना गरिएको हो ।

एक्स्पोमा दसैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरू सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । “मेलामा कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टल छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्रान्डका सामान खरिद गर्न सकिन्छ,” प्रधानले भने । नेपाल, भारत तथा बंगलादेशलगायत मुलुकका व्यवसायीहरू मेलामा सहभागी छन् । मेला असोज १५ गतेसम्म चल्नेछ ।