को-को बन्दै छन् एकीकृत समाजवादीबाट मन्त्री ?

होमल्याण्ड खबर

२०७९ चैत्र १२ गते, आईतवार १२:५९ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) पार्टीबाट डा. बेदुराम भुसाल नेतृत्वमा सरकारमा सहभागी हुने करिब पक्का भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको अवस्थामा सत्तारुढ गठबन्धनमा सहभागी दलहरुमा कुन मन्त्रालयमा दावी गर्ने र कसलाई मन्त्री बनाउने भन्ने चर्चा चलिरहेको छ ।

आन्तरिक रूपमा मन्त्रीबारे लगभग टुंगोमा पुगिसकेकाे एकीकृत समाजवादीबाट सरकारमा भुसालले नेतृत्व गर्ने नेताहरूबीच समझदारी जुटेको छ ।

राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल एकीकृत समाजवादीका उपाध्यक्ष हुन् । भुसाल यसअघि पार्टीका महासचिव थिए । घनश्याम भुसाललाई महासचिव बनाइएपछि उनलाई उपाध्यक्षमा बढुवा गरिएको थियो ।

एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ । जसमा बझाङबाट निर्वाचित सांसद भानुभक्त जोशी मन्त्री बन्ने निश्चित रहेको नेताहरू बताउँछन् ।

एकीकृत समाजवादीभित्र मन्त्री छनोटका लागि मापदण्ड बनाइएको छ । स्रोतका अनुसार निर्वाचनअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेकामध्येबाट एकजना दोहोरिने गरी मापदण्ड बनाइएको छ । जसमा नेता मेटमणि चौधरी मन्त्रीमा दोहोरिन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालयमा दाबी गरिरहेको छ । गृह मन्त्रालयमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको पनि दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा आबद्ध दलका नेताहरूसमक्ष आज मन्त्रालय भागबन्डाको औपचारिक प्रस्ताव राख्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।