२६ बैशाख २०८३, शनिबार
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी तीन वर्षपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
कोभिड–१९ का कारण आवतजावत बन्द भएको नाका शनिबार बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । नेपाली गाडीमा निकासी–पैठारीसहित मानिसको पनि आवागमन हुने गरी नाका सञ्चालनमा आएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख नारायणप्रसाद भण्डारीले बताए ।


शनिबार बिहान दुई देशको सिमानास्थित चीनतर्फको भूभागमा एक कार्यक्रम आयोजना गरी नेपालतर्फका प्रतिनिधिमण्डलका प्रमुख नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहितको एक टोली तथा चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीसहितको प्रतिनिधिमण्डलले संयुक्त उद्घाटन गरी रसुवागढी नाका पुनः दुईतर्फी सञ्चालनमा आएको घोषणा गरेका थिए ।
घोषणालगत्तै नेपाली र चिनियाँ नागरिकको आवतजावतसँगै नेपाली पाँच कन्टेनर सामान चीनतर्फ पठाएर नाका पूर्ण रूपले औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै शनिबार २२ वटा नेपाली कन्टेनर हस्तकलाका सामान, बाँसका मुढालगायतका सामान लिएर चीनतर्फ गएका हुन् । त्यसैगरी, नेपाली ३२ वटा खाली कन्टेनर सामान लिन चीनतर्फ गएका छन् ।
आइतबारदेखि नेपाली कन्टेनरले नै चीनबाट सामान लिएर आउने भन्सार प्रमुख भण्डारीले बताए । ‘शुक्रबारसम्म चिनियाँ गाडीमा सामान आइरहेको थियो, नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब नेपाली कन्टेनरमै सामान आयात–निर्यात हुने भएको छ,’ उनले भने । कोभिडका कारण रोकिएको सामान निर्यात ३५ महिनापछि गत पुस १२ देखि खुलेको हो । मानिसको आवतजावत भने ३८ महिनादेखि नै ठप्प थियो । आंशिक रूपमा आयात–निर्यात भइरहे पनि ३८ महिनादेखि मानिसको आवतजावत ठप्प थियो ।