८ मंसिर २०८१, शनिबार
चौधरी ग्रुपको मुख्य लगानीमा निर्माण गरिएको ललितपुरको झम्सिखेलस्थित चारतारे डिलक्स होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ताज ग्रुपले सम्हाल्ने भएको छ । सीजी हस्पिटालिटीका कार्यकारी निर्देशक राहुल चौधरी र द इन्डियन होटल्स कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक एवं कार्यकारी अधिकृत पुनित चटवालबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि उक्त होटल ‘भिभान्ता काठमाडौं’को नाममा सञ्चालनमा आउनेछ ।
हस्पिटालिटी उद्योगमा विश्वभर प्रख्यात ताजलाई चौधरी ग्रुपले डेढ दशकपछि काठमाडौं भित्र्याएको हो । ताजको आगमनले नेपालको पर्यटन उद्योगमा उत्साह थप्ने एवं पर्यटकले उच्च गुणस्तरको सेवा पाउने वातावरण तयार भएको छ । यसअघि ताजले चौधरी ग्रुपअन्तर्गतकै विख्यात जंगल सफारी रिसोर्ट मेघौली सेराईको व्यवस्थापन पनि सम्हाली रहेको छ । “नेपालको हस्पिटालिटी क्षेत्रमा अब हामी सशक्त रूपमा उपस्थित भएका छौं । ताज जस्तो विख्यात ब्रान्डमा होटल सञ्चालनमा ल्याउन पाएकोमा हामी अत्यन्तै खुसी छौँ,” ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीले भने, “हामी नेपालको पर्यटनलाई अर्को तहमा पुराउन प्रतिबद्ध छौं । र, सोही सोंचमा आधारित रहेर हामीले हाम्रा होटल एवं रिसोर्टहरूको निर्माण गरिरहेका छौं ।”
यो होटल सन् २०१८ को नोभेम्वरमा उद्घाटन गर्ने लक्ष्य राखिएको छ । हाल होटलमा आन्तरिक सजावटका कामहरू भइरहेका छन् । होटलमा सुइटसहित १ सय ११ रुम छन् ।
इन्डियन होटल्स कम्पनी लिमिटेडका महाप्रबन्धक एवं कार्यकारी अधिकृत पुनित चटवालले भने, “नेपालमा चौधरी ग्रुपजस्तो प्रतिष्ठित ग्रुपद्वारा प्रवद्र्धित आर एन्ड आर होटल्स एन्ड रिसोर्टसँग नयाँ होटलमा साझेदारी बन्नपाउनु गौरवको कुरा हो । पर्यटकीय दृष्टिकोणले काठमाडौं प्रख्यात स्थान हो । यस साझेदारीले मेघौली सराईसँग टुरिष्ट सर्किटको रूपमा जोड्ने हाम्रो चाहना पूरा हुनेछ ।
होटलको १० औं तलामा ‘इन्फिनिटी स्वीमिङ पुल’निर्माण गरिएको छ । जुन नेपालका लागि संभवतः नयाँ अनुभव सावित हुनेछ । त्यसैगरी होटलमा २५ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरी रुफटप बारको व्यवस्था मिलाइएको छ जहाँ डिजेको प्रस्तुतिसँगै विश्वमा उपलब्ध सबै प्रकारका मदिराहरू उपलब्ध हुनेछन् ।
सुविधा सम्पन्न लबि, क्याफे, डाइनिङ लाउन्जको सुविधा उपलब्ध हुनेछ । पार्किङ्का लागि बेसमेन्ट पार्किङको व्यवस्था गरिएको छ । शारीरिक व्यायामका लागि फिट्नेस क्लब उपलब्ध हुनेछ । व्यवसायिक प्रयोजनका लागि छुट्टै बिजनेस सेन्टरको व्यवस्था मिलाइएको छ । सुरक्षाको प्रत्याभूतिका लागि सीसीईटिभी एवं अन्य सुरक्षा तथा मानवीय सम्वेदनशिलता लाई ध्यानमा राखी अलाम, फायर एक्सटिङ्ग्युर तथा वाटर स्प्रिन्कल्स आदि सेवा उपलब्ध रहनेछन् । होटलमै साउना, सैलुन र स्पाको व्यवस्था मिलाइनेछ ।
चौधरी ग्रुप र ताजबीचको साझेदारीमा श्रीलंका, माल्दिभ्स, थाइल्यान्ड, दुबई र भारतमा विख्यात होटल एवं रिसोर्टहरू सञ्चालनमा छन् । आर एन्ड आर होटल्स एन्ड रिसोर्ट नेपालको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइ दिने अभिप्रायले सीजी हस्पिटालिटीको मुख्य लगानीमा स्थापना भएको कम्पनी हो । यस कम्पनीको स्वामित्व नेपाललाई प्रतिनिधित्व गर्दै फोब्र्स लिस्ट पर्न सफल अर्बपति विनोद चौधरीको ग्रुप हो । सीजी हस्पिटालिटीअन्तर्गत १२ देशका, ७० स्थानमा ९५ भन्दा बढी होटेल, रिसोर्ट, लज र स्पा सञ्चालनमा छन् । हाल सीजी गु्रपको मातहतमा सञ्चालित होटलहरूको रुम क्षमता ५७ सय छ ।
सन् २०२० सम्ममा सीजी हस्पिटालिटीको पोर्टफोलियोमा २०० भन्दा बढी होटल पुराई विभिन्न २० देशका १ सय स्थानमा पुराउने लक्ष्य छ । होटलको विस्तारसँगै रुमको क्षमता १० हजार पुग्नेछ ।