९ मंसिर २०८१, आईतवार
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘एच’ को खेलमा युभेन्ट्स विजयी भएको छ । फरवार्ड पाउलो डिबालाले ह्याट्रिक प्रहार गरेपछि युभेन्ट्सले योङ ब्वाइजलाई ३–० ले पराजित गरेको हो ।
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो प्रतिबन्धमा रहेका कारण डिबालाले पहिलो रोजाइमा खेल्ने मौका पाएका थिए । उनले उक्त अवसरको सदुपयोग गर्दै खेलको पाँचौ मिनेटमा नै गोलको खाता खोले ।
३३ औं मिनेटमा युभेन्ट्सले डिबालाकै माध्यमबाट अग्रता दोब्बर पार्यो । ६९ औं मिनेटमा डिबालाले ६ यार्ड बक्सभित्र खाली पोस्टमा गोल गरेका थिए ।
यस जितसँगै युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा छ । अघिल्लो खेलमा भ्यालेन्सियालाई २–० ले पराजित गरेको युभेन्ट्सले अर्को खेलमा म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ ।
रोनाल्डो बिना पनि युभेन्टस लयमा छ । अबको खेलमा भने रोनाल्डो उपलब्ध हुनेछन् ।