फोहोर नउठेपछि फोहोर उठाइदिन शीतल निवास अनुरोध

होमल्याण्ड खबर

२०७९ चैत्र २७ गते, सोमबार १४:१० मा प्रकाशित

राष्ट्रपति कार्यालयले सोमबार बिहान फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध गरेको छ ।

शीतल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शीतल निवासले टेलिफोन गरेर फोहोर उठाउन आग्रह गरेको हो ।

तर फोहोरमैला उठाएर बञ्चरेडाँडामा लैजानुपर्ने भएकाले त्यहाँ महानगरले नलैजान दिएको निर्देशनले फोहोर नउठाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले बताए । ‘हामीलाई फोहोर उठाउन राष्ट्रपति कार्यालयबाट फोन आए पनि फोहोर नउठाउन महानगरका मेयरको निर्देशनले उठाएका छैनौं,’ सञ्चालक घिमिरेले भने ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारबाट फोहोर नउठाउन निर्देशन दिएपछि हिजोदेखि प्रधानमन्त्री कार्यालयसहित सिंहदरबारभित्रका कार्यालयबाट पनि फोहोर उठेको छैन ।