पीएसजीको पहिलो जितमा नेयमारको ह्याट्रिक

होमल्याण्ड खबर

२०७५ आश्विन १८ गते, बिहीबार ११:१५ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले सर्बियाको रेड स्टार बेलग्रेडलाई ६ – १ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा नेयमारले ह्याट्रिक गरेपछि पीएसजीले फराकिलो जित निकालेको हो । यस्तै पीएसजीका लागि थप गोल एडिनसन काभानी, एन्जल दि मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे । बेलग्रेडका मार्को मारिनले एक गोल फर्काए ।

बेलग्रेडविरुद्ध पहिलो हाफमै पिएसजीले चार गोल गरेको थियो । खेलको २० औं मिनेटमा नेयमारले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा नेयमारले दोस्रो गोल गर्दै पीएसजीलाई २ – ० को अग्रता दिलाए ।

खेलको ३७ औं मिनेटमा काभानीले गोल गर्दै पीएसजीको अग्रता ३-० को स्थितीमा पुर्राए । खेलको ४१ औं मिनेटमा डी मारियाले गोल गरेपछि पीएसजी पहिलो हाफमा ४-० ले अघि रह्यो ।

दोस्रो हाफमा पीएसजीले थप दुई गोल गर्यो । ७० औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाए । ७४ औं मिनेटमा बेलग्रेडका मारिनले एक गोल गर्दै खेल ५ – १ मा ल्याए । त्यसपछि खेलको ८१ औं मिनेटमा तेस्रो गोल गर्दै नेयमारले ह्याट्रिक पुरा गर्दै पीएसजीलाई ६ – १ को जित दिलाए ।

जितसंगै समूह ‘सी’ को पीएसजीले २ खेलबाट ३ अंक जोडेको छ । र, तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा पीएसजी लिभरसंग पराजित भएको थियो । पराजित बेलग्रेड १ अंक जोडेर पुछारमा छ । एजेन्सी ।