संसदीय समिति गठन नभइ प्रधानन्यायधीश सिफारिस हुन्‍न : एमाले

होमल्याण्ड खबर

२०८० बैशाख ६ गते, बुधबार १३:३५ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समिति नबनी प्रधानन्यायाधीश सिफारिस हुन नसक्ने बताएको छ ।

बुधबार बिहान बसेको संवैधानिक परिषद् बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिला संसदीय समिति टुंग्याएर मात्र प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने बताएका हुन् । एमाले अध्यक्ष ओली प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा परिषद् बैठकमा सहभागी थिए ।

बैठक स्रोतका अनुसार ओलीले संसदीय समिति गठन नटुंग्याउँदासम्म प्रधानन्यायाधीशको नाम सिफारिस गरेर अर्थ नहुने बताएका थिए । त्यसपछि बैठक बिनानिष्कर्ष सकिएको थियो । ओलीले बैठकमा पहिला संसदीय समितिका विषयमा टुंगो लगाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

अहिले परिषद्ले सिफारिस गरे पनि संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि नबढ्ने भन्दै ओलीले पहिला समिति गठनमा ध्यान दिन सुझाएका थिए । समिति गठन भएपछि विपक्षी दलको नेता परिषद्ले गर्ने निर्णयमा बाधक नबन्ने ओलीले बताएका एक सदस्यले जानकारी दिए ।

बैठकमा चर्को धारणा राखेका ओलीले प्रक्रियागतरूपमा काम अघि बढाउनु पर्ने बताएका थिए । प्रक्रिया भनेको सिफारिस भएपछि अनुमोदन गर्ने निकाय संसदीय समिति पहिला टुंगिनु पर्ने उनको भनाइ थियो । बैठकको एजेण्डाबारे पूर्वसूचनामा पनि ओललिे आपत्ति जनाएको एक सदस्यले बताए ।

शुक्रबार बोलाउने जानकारी गराएर एकाएक बुधबार बोलाइएको, त्यो बैठकको जानकारी मंगलबार मात्रै गराइएकोमा पनि ओलीको आपत्ति रहेको ती सदस्यले बताए ।
संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को पुरानो प्रावधान अनुसार, बैठक बस्नुभन्दा ४८ घण्टाअघि सदस्यहरुलाई सूचित गर्नुपर्ने वयवस्था छ ।