गण्डकीमा वैशाख १४ सम्म नयाँ सरकार गठन गर्न आह्वान

होमल्याण्ड खबर

२०८० बैशाख १२ गते, मंगलवार १५:१४ मा प्रकाशित

गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाए पछि नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

वैशाख ९ गते विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । नयाँ सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिइएको छ ।

नेपालको संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरिएको हो । उक्त उपधारा अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख गुरूङले आह्वान गरेका छन् । एमाले नेतृत्वको अधिकारी सरकार पनि यही धाराअनुसार गठन भएको थियो ।

६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ । प्रदेश सभामा नेपाली कांग्रेसको २७, माओवादी केन्द्रको ७, एमालेको २२, एकीकृत समाजवादीको एक, राप्रपाको २ सांसद छन् ।