उपनिर्वाचनमा १.५० प्रतिशत मत बदर भयो: निर्वाचन आयोग

होमल्याण्ड खबर

२०८० बैशाख १३ गते, बुधबार १२:१६ मा प्रकाशित

निर्वाचन आयोगले वैशाख १० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा कुल १.५० प्रतिशत मत बदर भएको जनाएको छ।

आयोगको जारी गरेको तथ्यांकअनुसार सबैभन्दा बढी मत तनहुँ १ मा बदर भएको छ। यो क्षेत्रमा ६५ हजार ३१६ मत खसेको थियो। जसमध्ये ६४ हजार १३५ मत सदर र बाँकी १ हजार १८१ मत बदर भएको छ। यहाँ कूल मतदाता १ लाख २३ हजार ३०५ रहेका थिए।

यसैगरी, चितवन २ मा ७८ हजार ६६४ मत खसेको थियो। जसमध्ये ७७ हजार ४६६ मत सदर र १ हजार १९८ मत बदर भएको छ। उक्त बदर मत भनेको १.५२ प्रतिशत हो। यहाँ कुल मतदाता १ लाख २४ हजार ६९५ रहेका थिए।

यस्तै, बारा २ मा ६९ हजार २२ मत खसेको थियो। उक्त मतमध्ये ६८ हजार १९२ सदर र ८३० मत बदर भएको छ। उक्त बदर मत १.२० प्रतिशत हो। यहाँ कूल मतदाता १ लाख ५ हजार २४८ रहेका थिए।

तनहुँ- १ मा रास्वपाका स्वर्णिम वाग्ले, चितवन- २ मा रवि लामिछाने र बारा- २ मा उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।