२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सीसीटीभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढदै गइरहेको उल्लेख गर्दै थापाले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सीसीटीभी जडान गर्नुपर्ने बताए ।


बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनहदाडै हत्या भएको ७ दिन बित्दा लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा थापाले आक्रोश व्यक्त गरे ।
‘यो सँगै सिंगै काठमाडौंलाई हामीसँगै काम गर्न तयार छौँ । महानगरपालिका, संघीय सरकार मिलेर सिंगो काठमाडौंलाई यसको सेक्युरिटीसँग जोडेर सीसीटीभी जोडेको भए यो घटनाको तथ्य पत्ता लगाई सकेको हुन्थ्यो,’ थापाले भने ।
‘छुरी प्रहार गरेर हत्या भएको ७ दिन भयो । प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनु भएको छ । तर, उहाँहरूले ठोस जवाफ पाउनु भएको छैन,’ थापाले भने, ‘आज संयोगले माननीय गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु सम्माननीय सभामुख महोदयमार्फत घटनाको सत्यतथ्य र सबभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकहरूले जुन विश्वास गर्न नसक्ने अवस्था बनेको छ । यसको बारेमा विश्वास गर्न गर्न स्थिति माननीय गृहमन्त्रीज्यूले बनाई दिनुहोस् । र, यसको तथ्य सातसात दिनसम्म पनि पत्ता लगाउन सकिएको छैन । शिघ्राधिशिघ्र यो घटनाको दोषी बाहिर आओस् भन्ने माग गर्दछु ।’