२ चैत्र २०८२, सोमबार
गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख १२ गते आज अपराह्न ४ बजेभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए ।
योसँगै गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार गठन हुने भएको छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।


केन्द्रमा बनेको नयाँ समीकरणसँगै त्यसको असर गण्डकी प्रदेशमा पर्यो र एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो । उनले वैशाख ९ गते विश्वासको मत पाउन भनेर प्रदेशसभामा पेस गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
अब बन्ने सरकारको नेतृत्व कांग्रेस माओवादीले आलोपालो गर्ने सहमति भएको नेताहरुको भनाइ छ । पहिलो चरणमा कांग्रेसका पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको हो । तर मन्त्रालय भागबन्डामा भने दुई दलबीच सहमति जुट्न सकेको छैन । माओवादीले सातमध्ये तीन मन्त्रालय पाउनु पर्ने अडान लिएको छ । यसका लागि उसले केन्द्रको निर्णय कुरिरहेको छ । मन्त्रीको नाम टुंगो लागे मुख्यमन्त्रीसँगै केही मन्त्रीले शपथ लिने बताइएको छ ।
गण्डकीमा कांग्रेसका २७, माओवादीको (सभामुखसहित) ८ प्रदेशसभा सदस्य छन् । यहाँ बहुमतको सरकार बनाउन दुई दल मात्रै मिले पनि पुग्ने देखिएको छ ।
६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ । कांग्रेस–माओवादी गठबन्धनमा एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे) पनि सहभागी छन् । मनाङबाट स्वतन्त्र उम्मेदवारको रुपमा सर्वसम्मत चुनिएपछि मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।