२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दलको भए पनि कारबाही हुनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले यस प्रकरणमा जुनसुकै दलको भए पनि अनुसन्धानलाई प्रभावित पार्न नहुने बताए।


नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएको प्रगतिमा प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिदै थापाले सरकारले दह्रोसँग खुट्टा टेक्यो भने प्रधानमन्त्रीले भने अनुसारको फिल्म हाउसफुल हुने बताए।
उनले भने, ‘यसका हामी सबैको एउटै आवाज छ संलग्न जोसुकै होस् । जुनसुकै दल, तह र ओहोदाको होस् । कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ। तपाईंको फिल्म चल्छ, हाउसफुल हुन्छ नत्र हल खाली हुन्छ। सबैले हेरेको छ। विश्वास लाग्नुपर्छ। नागरिकलाई फ्री र फेयरमा विश्वास लाग्नुपर्छ,’ उनले भने।
बजारको हाल्ला, भेटघाट र कुनै प्रभावले छानबिनमाथि प्रभावित हुन नहुने उनले बताए ।
उनले भने, ‘निर्दोष कोही नपरोस् । तर, दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछाड्नुस् । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भनेर सुशासनको नारा लगाउन सकिन्छ । तपाईंको फिल्म चल्छ हाउसफुल हुन्छ ।’