८ बैशाख २०८२, सोमबार
बङ्गालको खाडीलाई प्रभावित तुल्याउने एक दशकयताकै शक्तिशाली चक्रवातका कारण बाङ्ग्लादेश र म्यान्मारको तटीय क्षेत्रमा भीषण बाढी निम्तनसक्ने चेतावनीहरू दिइएका छन्।
केही घण्टामै जमिन क्षेत्रमा प्रवेश गर्ने मोका चक्रवातलाई अहिले क्याटेगोरी पाँचको आँधीका रूपमा व्याख्या गरिएको छ। भीषण वर्षासहितको उक्त आँधीको वेग प्रतिघण्टा २५० किलोमिटर रहेको जनाइएको छ।
बाङ्ग्लादेशका विभिन्न ठाउँबाट करिब पाँच लाख मानिसहरू सुरक्षित स्थानमा सारिएको भए तापनि कोक्स बजारस्थित शरणार्थी शिविरमा बस्ने रोहिन्ज्या शरणार्थीहरूको सुरक्षालाई लिएर भने चिन्ताहरू व्यक्त भएका छन्।
एकदमै खतरनाक हुनसक्ने ठानिएको उक्त चक्रवातअघि दक्षिणपूर्वी बाङ्ग्लादेशमा झन्डै ५ लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।
सो चक्रवात १७० किलोमिटर प्रतिघण्टाको वेगले मध्यदिनमा जमिनमा बज्रिने र हावाहुरी र आँधीले १२ फिटसम्म उचाइ लिनसक्ने भनिएको छ।कोक्स बजारमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि त्यसको प्रभाव पर्नसक्ने चिन्ताहरू व्यक्त भएका छन्।
उक्त अस्थायी शिविरमा करिब १० लाख मानिसहरूको बसोबास छ। शिविर क्षेत्रमा पानी पर्न थालेको छ र त्यहाँ चेतावनी स्वरूप रातो झन्डा उठाइएको छ।