शीर्ष स्थानको थाइल्याण्डसंग खेल्दै नेपाल

होमल्याण्ड खबर

२०७५ आश्विन २१ गते, आईतवार १०:२७ मा प्रकाशित

मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गत तेस्रो खेलमा नेपालले आज (आइतबार) थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा थाइल्याण्डसंग खेल्न लागेको हो । यसअघि नेपालले शनिबार आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो । त्यसअघि पहिलो खेलमा नेपालले म्यानमारलाई पनि ८ विकेटले हराएको थियो ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ मा सुरु हुनेछ ।   र,थाइल्याण्डविरुद्ध मैदान उत्रदा नेपाल तेस्रो जितको खोजीमा हुनेछ ।

थाइल्याण्ड नेपालको लागि नौलो प्रतिद्वन्द्वी समेत हो ।  महिला र उमेर समूहमा नेपालले थाइल्याण्डसंग प्रतिस्पर्धा गरिसकेको छ । तर, पुरुष टोलीले भने दोस्रो पटक खेल्न लागेका हुन् ।

यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएको थियो । तर, वर्षाको कारण उक्त खेल टस समेत नभई स्थगित भएको थियो ।

जारी छनोटमा थाइल्याण्ड शीर्ष स्थानमा रहेको छ । थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ । २ खेलबाट नेपालले ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा छ । २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ ।

नेपालले थाइल्याण्डपछि मंगलबार भुटानसंग प्रतिस्पर्धा गर्दा बुधबार चीन र शुक्रबार सिंगापुरसंग खेल्नेछ ।

छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।

अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।