आजबाट दशैँको लागि नयाँ नोट साट्न मिल्ने, यी ठाउँहरुमा नोट साट्न सकिने

होमल्याण्ड खबर

२०७५ आश्विन २१ गते, आईतवार ११:१७ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा आजबाट उपलब्ध गराउँदैछ ।

आज (भदौ २१) देखि २९ गतेसम्म दशैका लागि नयाँ नोट सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग, उपत्यका बाहिरको जनकपुर, बिरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी कार्यालयहरु, नोटकोष रहेका बाणिज्य बैंकहरु, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट नोट सटही गर्न सकिने राष्ट्र बैंकले भनेको छ ।
५, १०, २०, ५० दरका दुई— दुई पाकेट र १०० दरका एक पाकेट गरी एकजनाले अधिकतम २७ हजार रुपैयाँसम्म सटही गर्न सक्नेछ ।
नेपाल बैंकको शाखा कार्यालय न्युरोड, किर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन, औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूरमा नयाँ नोट सटहीको सुविधा छ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका कार्यालयहरु सिहंदरबारप्लाजा, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, बिशालबजार, नक्साल, कलंकी , बालाजुमा पनि नोट सटहीको सुविधा छ ।
यता, कृषि विकास बैंकको शाखा कार्यालयहरु गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न सकिनेछ ।