निर्मलाको सुरुवाल पखाल्ने प्रहरी चाँदनी र घटनास्थल हेर्ने सई हरसिंह निलम्बित

होमल्याण्ड खबर

२०७५ आश्विन २२ गते, सोमबार ११:५४ मा प्रकाशित

बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएकी कञ्चनपुरकी निर्मला पन्तको सुरुवाल पाखल्ने प्रहरी चाँदनी साउद र घटनास्थल हेरेका सई हरसिंह धामी निलम्बनमा परेका छन् ।
घटनाको अनुसन्धान गर्न खटिएको प्रहरीको अर्को डी आइजी धिरु बस्न्यात नेतृत्वको टोलीको सिफारिस अनुसार चाँदनी र हरसिंहलाई निलम्बन गरिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार घटनाको प्रमाण मेटाउन भूमिका देखिएपछि उनीहरुलाई निलम्बन गरिएको हो । चाँदनी साउदले गत साउन ११ गते निर्मलाको सुरुवाल पखालेर शबमाथि राखिदिएको भिडियो सार्वजनिक भएको थियो ।

हरिप्रसाद मैनाली नेतृत्वको सरकारी उच्चस्तरीय टोलीसँगको बयानका क्रममा उनले सुरुवाल पखाल्न आफुलाई कसैले नभनेको, उनले लगाएको कपडा प्रहरी कार्यालयमा नल्याइएको र ती कपडा अहिले कहाँ छ भन्ने आफुलाई थाहा नभएको बताएकी थिइन्।

निमम्बनमा परेका हरसिंह धामीले मृतकको सुरवाल र पेन्टी पानीमा चोपलेको नदेखेको देखिन, हाततिर केही खत चिन्ह छ कि भनेर हेरेको तर निर्मलाको कपडाबारे जानकारी नभएको र शब मृतकको शव दाजु नाता पर्ने लक्ष्मी पन्तले बुझेका हुन, भनेका थिए । चाँदनी र हरसिंहसँगै निर्मला हत्या प्रकरणमा निलम्बन हुने प्रहरीको संख्या ८ पुगेको छ ।

यसअघि नै कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी, सीआईबीका डीएसपी अंगुर जिसी लगायत ६ जना प्रहरी अधिकारी निलम्बनमा परिसकेका छन् ।