८ मंसिर २०८१, शनिबार
सेयर बजार परिसूचक नेप्से १.३५ प्रतिशतले वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से २५.६६ अंकको वृद्धि हुँदा १९२७.६५ अंकको बिन्दुमा बन्द भएको छ ।
बजेटपछि प्राकृतिक व्यक्तिले सेयर बिक्री गर्दा लाग्ने पूँजीगत लाभकर नै अन्तिम हुने कि नहुने भन्ने विषयले सेयर बजार नै तरंगित भयो । बजेटपछिको दुई दिनमा नै करिब ९२ अंकको गिरावट भएको नेप्से त्यसपछि सम्हालिएर बढ्न लागेको छ ।
गत साता बजेटको अघिल्लो दिन सहित बजेटपछि १६ जेठ मंगलबार र १७ गते बुधबार समेत घटेको नेप्से १८ जेठ बिहीबार सामान्य वृद्धि भएको थियो । यो साताको आइतबार ५३ अंकले बढेको नेप्से सोमबार १६ अंकको करेक्सन भएपनि मंगलबार पुनः बढेको हो ।
मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक सर्वाधिक ५.६७ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा उपसूचक ४.६४ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.५५ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि करिब २ अर्ब नजिक पुगेको छ । मंगलबार नेप्सेमा ३६ हजार ११८ वटा कारोबारमा ५५ लाख ४१ हजार ८७८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाखको कारोबार भएको छ । जसमध्ये सोल्टी होटलको करिब ९ करोड ६९ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको करिब ९ करोड १८ लाख र अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ५७ लाखको कारोबार भएको छ ।