पहिलो दिननै झण्डै ५९ करोड बराबरकोे नयाँ नोट साटियो

होमल्याण्ड खबर

२०७५ आश्विन २२ गते, सोमबार १३:५१ मा प्रकाशित

दशैंका लागि नयाँ नोट साट्न शुरु गरेको पहिलो दिननै ५८ करोड ८० लाखको नयाँ नोट सहटी भएको छ । राष्ट्र बैंकको थापाथली कार्यालय, कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंक सहित राजधानीका २२ वटा शाखा र मुलुकभरका ८८ नोट कोषबाट हिजो एक्कै दिन ५८ करोड ८० लाखको नयाँ नोट सटही भएको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको हो ।

नयाँ नोट सटही सोमबार पनि जारी छ । ग्राहकहरुले असोज २९ गते फूलपातीसम्म नयाँ नोट साट्न पाउने छन् । नोट साट्न सजिलो होस् भनेर राष्ट्र बैंकले निजी क्षेत्रका केही बैंक तथा वित्तीय संस्थाबाट पनि सटही गर्ने व्यवस्था मिलाएको छ । एक जनाले ५, १०, २० र ५० का दुई बण्डल र १ सयको १ बण्डल गरी २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछन् ।

राष्ट्र बैंकले दशैंमा साट्नेका लागि शुरुवातमा साढे ८ अर्ब नयाँ नोटको चाँजो मिलाएको छ। यो रकम अपुग भएमा पछि थपिनेछ । त्यस्तै दशैंमै पेमेन्टका लागि पाँच सय र हजार दरका नोट साढे १८ अर्ब रुपैयाँ छुट्याइएको मुद्रा विभागले जनाएको छ ।
उपत्यका बाहिर राष्ट्र बैंकको पोखरा, विराटनगर, जनकपूर, बीरगन्ज, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयहरु तथा राष्ट्र बैंकको नोट कोष रहेका बाणिज्य बैंकका शाखाहरु, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक मार्फत नयाँ नोट सटही गरिने राष्ट्र बैंकले जनाएको छ ।