एक जना सांसदले मात्र बजेट बनाउन मिल्दैनः डा.राउत

होमल्याण्ड खबर

२०८० असार ४ गते, सोमबार १५:१९ मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले सांसदहरूको मागअनुसार संशोधन नभए बजेट पास हुन नदिने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा.राउतले सांसदका मागहरू सम्बोधन हुनेगरी बजेट सशोधन नभए सत्तापक्षका सांसदहरूले नै बजेट पास हुन दिन नहुने बताएका हुन् ।
उनले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजान माग गरे ।

एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरूको आवश्यकता नभएको भन्दै निर्वाचित सांसदहरूको कुरा सरकारले सुन्नुपर्ने उनको भनाइ छ ।

‘समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजानुपर्छ । कार्यान्वयन होला नहोला छुट्टै कुरा छ । मन्त्री पद सदावहार शासक होइन । मन्त्री बन्दैमा अहंकार देखाउनुपर्छ भन्ने पनि होइन । एक जनाले बजेट निर्माण गर्ने भए यति धेरै सांसदहरू किन आवश्यक पर्ने थियो,उनले भने, विभिन्न क्षेत्रबाट जनप्रतिनिधि निर्वाचित भएर आएका छौं । मन्त्रालयले सांसदहरूको कुरा सुनिदिनुपर्छ ।