देउवालाई जानकारी गराएरै भेला गरेका हौं : विश्वप्रकाश शर्मा

होमल्याण्ड खबर

२०८० असार २२ गते, शुक्रबार १६:०३ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई जानकारी गराएरै जिल्ला सभापतिहरुको भेला गरिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यलयमा शुक्रबार महामन्त्री शर्माले विधानअनुसार नै भेला बोलाइएको बताए ।

‘महामन्त्रीहरुले नबोलाउँदा किन नगर्ने भनियो अहिले विधानले दिएको व्यवस्था अनुसार बोलाउन किन बोलाएको भनिँदैछ,’ शर्माले भने, ‘जिल्ला सभापतिहरुको भेला पार्टी सभापतिलाई जानकारी नदिइकन गरियो भन्ने कुरा बेकारको कुरा हो । सभापतिलाई थाहा नभइकन यस प्रकारको भेला भएको होइन ।’

यस्तै विगतमा भएको भेला भन्दा अहिलेको भेला फरक भएको पनि उनले बताएका थिए ।

‘सभापतिसँग कतिपय विषयमा फरक मत हुँदै गर्दा विगतको प्रचलन भनेको होटलमा भेला गर्ने र सभापतिको विरुद्ध एक प्रकारको धारणाहरु सार्वजनिक गर्ने हुने गरेको थियो,’ शर्माले भने ‘अहिले सभापतिहरुको भेला केन्द्रीय कार्यालयमा भइरहेको छ र पार्टीको क्रियाशील सदस्यहरुलाई कसरी व्यवस्थित बनाउने, सबै तहको सम्मेलनहरु गरेर जाने भन्ने विषयमा कुरा भएको छ । यसमा कसैले पनि आशंका गर्नु पर्दैन ।’

भेला क्रियाशील सदस्यता र त्यसलाई कसरी प्रविधिमैत्री बनाउने र कहिले कहिले अधिवेशनहरु गर्ने भन्ने विषयमा केन्द्रित रहेको पनि महामन्त्री शर्माले बताए ।

‘यस भेलामा क्रियाशील सदस्य र पार्टी संगठकको सम्मेलनको विषयमा छलफल भएको छ,’ महामन्त्री शर्माले भने, ‘जिल्ला सभापतिहरुले पनि कुन कुन काम कसरी कसरी लिएर कार्यकर्तामा जाने भन्ने विषयमा साझा ढंगको प्रतिवद्धता ल्याउँदै हुनुहुन्छ ।’