२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रुपान्तरण अभियानको प्रतिवेदन बुझ्न अस्वीकार गरेका छन्।
पार्टी रुपान्तरण अभियानले तयार पारेको रुपान्तरणको खाका सभापति देउवालाई मंगलबार बुझाउने तयारी गरिए पनि देउवाले समय दिन अस्वीकार गरेका हुन्।


देउवाले प्रतिवेदन बुझ्न अस्वीकार गरेपछि अभियानले केन्द्रीय कार्यसमितिको बैठकअघि केन्द्रीय कार्यालयमा बुझाउन लागेको हो।
‘प्रतिवेदन बुझ्न सभापतिको समय माग्दा उहाँले दिनुभएन। सभापतिको समय नपाएपछि केन्द्रीय कार्यालयमा बुझाउने तयारी गरेका छौं,’ अभियानका संयोजक गुरुराज घिमिरेले भने।
केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजे बस्दैछ । त्यसअघि केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउने कार्यक्रम रहेको उनले जानकारी दिए।
अभियानले देशका सात वटै प्रदेशमा नेता–कार्यकर्तासँग छलफल गरेको थियो। छलफलमा नेता–कार्यकर्ताले दिएको सुझावलाई समेटेर प्रतिवेदनमा समेटिएको छ।