२ चैत्र २०८२, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर विषयलाई विषयान्तर गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
उनले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका गम्भीर बुँदामा बहस गर्नुको साटो विषयान्तर गर्न खोजेको भन्दै यस्ताे टिप्पणी गरेका हुन्।


‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दै छ, पढ्नुस् त । यस्तो गम्भीर विषयलाई विषयान्तर गर्न खोजेर अरू नै विवादतिर जबरजस्ती मोड्न खोजेको कयौँले बुझ्नै भ्याउनु भएको छैन,’ सभापति लामिछानेले सामाजिक संजालमा लेखेका छन्, ‘कयौँले जानाजान बुझ पचाउनु भएको छ । हामीले के बोल्यौँ त्यो अझै सुरक्षित छ । त्यसमा बहस अझै गरौँला । तर, यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त ।’
रास्वपाले संसद् घेराउ गरेको विषयलाई लिएर अनावश्यक गाली नगर्न पनि उनले आग्रह समेत गरेका छन् । ‘राजनीतिको मूलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन–कुन दल र त्यस दलका नेता कार्यकर्ताहरूलाई स्वीकार्य हुने हो ? स्पष्ट हुनु पर्छ कि पर्दैन ?,’ उनले थप भने, ‘रगत उम्लिने गरी रास्वपा र हाम्रा नेतालाई गाली गर्नु हुने देश भक्त साथीहरू तथा विज्ञप्ति, मिडिया इन्टरभ्यु र आर्टिकलहरू ठेलिरहनु भएका विज्ञज्युहरु, छातीमा हात राखेर भन्नुहोस्, यति बेला बहस के’मा हुनुपर्थ्यो ?’