कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट रेग्मी र सुवेदीको इजलासमा

होमल्याण्ड खबर

२०८० श्रावण ७ गते, आईतवार ११:१३ मा प्रकाशित

कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आजदेखि बहस हुने भएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा निरन्तर सुनुवाइका लागि आज न्यायाधीशद्धय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ।

कोशी सरकार गठन अस‌वैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आज देखि बहस हुन लागेको हो ।

सो प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधिश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गरेपछि आज देखि कोशी सरकारको वैधानिकतामा बहस सुरु हुन लागेको हो ।

सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरेपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो। निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंवैधानिक भन्दै खारेजीको माग एमालेको छ । जसमा आजबाट दुवै पक्षले आ(आफनो तर्फबाट बहस गर्नेछन्।