देश बनाउने जिम्मा अब युवाले लिनुपर्छ : अध्यक्ष तिमिल्सिना

होमल्याण्ड खबर

२०८० श्रावण १२ गते, शुक्रबार १६:०८ मा प्रकाशित

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक बनाउने जिम्मेवारी अब युवाले लिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरमा योङ प्रोफेशनल फेलोसिप नेपाल २०२३ कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले राजनीति गर्नेहरुले देशलाई स्वर्गको टुक्रा जस्तो बनाउन नसकेको भन्दै अब युवाहरुले यसको जिम्मा लिनुपर्ने बताएका हुन् ।

देशलाई परिवर्तन गर्न र नयाँ व्यवस्था स्थापित गर्ने आन्दोलनमा राजनीतिज्ञहरुको आवश्यक भूमिका रहेको भन्दै उनले व्यवस्था परिवर्तन गरेपनि अवस्था परिवर्तन गर्ने कुरामा भने अल्मलिएको बताए ।

अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई सशक्तिकरण गर्दा व्यक्तिलाई मात्रै नभई राष्ट्रको समग्र बिकासका लागि पनि निर्णायक हुने धारणा राखे । युवा बिकासका मार्गदर्शक, नवप्रवद्र्धक भएकाले द्रूत गतिमा विश्वलाई परिवर्तित आकार प्रदान गर्ने काम पनि युवाहरुको नै भएको उनको भनाइ छ ।