३० कार्तिक २०८१, शुक्रबार
‘नेकपा’को नाम विवादबारे निर्णय गर्न निर्वाचन आयोगमा आयोगका आयुक्तहरुको इजलास सुरु भएको छ । इजलासले ‘नेकपा’को नाम विवादबारे निर्णय लिने आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी दिएका छन ।
सत्तारुढ नेकपाले आफ्नो पाटीसंग नाम जुधाएको भन्दै ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा उजुरी दिएको थियो । उक्त उजुरीमाथि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेलको इजलासले निर्णय गर्नेछ । बिहीबारको इजलासमा आयुक्त इला शर्मा उपस्थित थिइनन । बुधबारको इजलासमा पनि एक जना आयुक्त उपस्थित नभएकाले निर्णय हुन नसकेको जनाइएको छ ।
तर, शुक्रबार सबै आयुक्तहरु उपस्थित हुने र ‘नेकपा’को नाम विवादबारे निर्णय हुने आयोगले जनाएको छ । गत बुधवार निर्वाचन आयोगमा आयोगका आयुक्तहरुसहित सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (ने क पा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिहरुको इजलास बसेको थियो ।
इजलासमा दुबै पार्टीका प्रतिनिधिहरुले आ–आफ्ना दलिल पेस गरेका थिए । सत्तारुढ नेकपाले भने आफूहरुले नेपाल कम्युनिस्ट पार्टीसँगै कोष्टभित्र (ने क पा) पनि राखेकाले नाम नजुध्ने दावी गर्दै आएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखिएको थियो । तर निर्वाचन आयोगमा यसअघि नै ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी नामको छुट्टै पार्टी दर्ता थियो ।