आजपनि एमालेले संसद्मा अवरोध गर्ने

होमल्याण्ड खबर

२०८० श्रावण १५ गते, सोमबार १०:५६ मा प्रकाशित

 प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज बस्ने प्रतिनिधि सभा बैठक पनि अवरोध गर्ने भएकाे छ।

एमाले प्रमुख सचेतक पदम गिरिका अनुसार सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरे पनि सरकारले त्यसमा चासो नदेखाएकाले भन्दै सोमबार बस्ने प्रतिनिधि सभा बैठक अवराेध गर्ने तयारी भएकाे हाे।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । गत बुधबार बसेको बैठकमा पनि एमाले सांसदहरूले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै अवरोध गरेका थिए ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई भेटेर संसद्को अवरोध हटाउन भूमिका खेल्न आग्रह गरेका छन्।

सोमबार बिहान परियार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा संसद्को अवरोध हटाउन र संसदीय समितिको सभापति चयनबारे कुराकानी भएको बताइएकाे छ।