भूकम्पपीडित बसेको टहरोमा आगलागी

होमल्याण्ड खबर

२०७५ कार्तिक ९ गते, शुक्रबार ११:५७ मा प्रकाशित

दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन ।
जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले जानकारी दिएका छन ।
आगलागीमा परी उनका जेठा छोरा १५ वर्षीय फुर्साङ शेर्पा घाइते भएका छन । घाइते फुर्साङलाइ उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याइएको दोलखा प्रहरीले जनाएको छ ।
करीब बिहान २ बजे लागेको आगो साढे ४ मा प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो । वृद्धा डालकी अँगेना नजिकै सुत्ने गरेकाले उनले ओढेको कपडामा सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । परिवारमा सात सदस्य रहे पनि तीन जना मात्रै घरमा रहेको र अन्य सदस्य भने घरभन्दा आधा घण्टा टाढा गोठमा बस्दै आएकाले उनीहरु सकुशल रहेका छन ।